News

Action for Justice परियोजना अन्तर्गत मनोसामाजिक प्राथमिक सहायता सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले Action For Justice परियोजना अन्तर्गत मनोसामाजिक प्राथमिक सहायता (Psycho-social First Aid, PFA) सम्बन्धी पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित उक्त तालिममा बूढानीलकण्ठ नगरपालिका र तारकेश्वर नगरपालिकाका गरी २० जना सहभागीहरूको उपस्थिति रहेको थियो।

तालिमको सहजीकरण CMCS का डा. सुभाष चन्द्र शर्मा र डा. राजेश कुमार झाले गर्नुभएको थियो। उहाँहरूले एक वर्षअघि यही समूहका सहभागीहरूलाई तीन दिने मनोसामाजिक प्राथमिक सहायता तालिम प्रदान गर्नुभएको थियो।

तालिमको सुरुवात पूर्व-परीक्षण प्रश्नावलीमार्फत गरिएको थियो। यसले प्रशिक्षकहरूलाई सहभागीहरूको ज्ञानस्तर बुझ्न र दिनभरका सत्रहरू योजना बनाउन सहयोग पुगेको थियो। त्यसपछि मनोसामाजिक प्राथमिक सहायता के हो र यो मनोसामाजिक परामर्शभन्दा कसरी फरक छ भन्ने विषयमा परिचयात्मक सत्र सञ्चालन गरिएको थियो।

सहभागीहरूले आफ्ना कार्यक्षेत्रका विभिन्न घरपरिवारमा भ्रमणका क्रममा मनोसामाजिक प्राथमिक सहायता कसरी अभ्यास गरिरहेका छन् भन्ने अनुभवसमेत साझा गरेका थिए। प्रशिक्षकहरूले मनोसामाजिक प्राथमिक सहायताले गम्भीर शारीरिक तथा मनोसामाजिक समस्या रोकथाम गर्न महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिनुभएको थियो।

तालिममा शोकका पाँच चरणहरू; अस्वीकार (Denial), रिस (Anger), सम्झौता वा मोलमोलाइ (Bargaining), निराशा (Depression) र स्वीकार (Acceptance);  बारे पनि छलफल गरिएको थियो।

तालिम प्रश्नोत्तर तथा समूह छलफलको माध्यमबाट सञ्चालन गरिएको थियो। प्रशिक्षकहरूले प्रत्येक सहभागीहरूसँग नजिकबाट संवाद गर्दै उनीहरूका जिज्ञासाहरू समाधान गर्नुभएको थियो। सहभागीहरूले समुदायमा मनोसामाजिक प्राथमिक सहायता सत्र सञ्चालन गर्दा भोग्नुपरेका चुनौतीहरू पनि साझा गरेका थिए। साथै, यस्तो सेवा प्रदान गर्ने व्यक्तिहरूका लागि आत्म-हेरचाह (Self-care) को महत्वबारे समेत छलफल गरिएको थियो।

तालिमका क्रममा सहभागी देविना कार्कीले मानसिक स्वास्थ्यका विषयमा नेतृत्व तह र निर्णयकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता तालिमहरू नेतृत्व तह र निर्णयकर्ताहरूका लागि पनि आवश्यक छन्। माथिल्लो तहका व्यक्तिहरूले मानसिक स्वास्थ्यलाई महत्वपूर्ण विषयका रूपमा नलिएसम्म, समुदायस्तरमा काम गर्ने व्यक्तिहरूलाई मात्र तालिम दिएर पर्याप्त हुँदैन ।”

नेपाल अपाङ्ग महिला संघले एक्शन फर जस्टिस परियोजना अन्तर्गत समुदायस्तरमा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्न विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

← Previous Article All Articles Next Article →