नेपाल अपाङ्ग महिला संघ ले सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश को आर्थिक सहयोगमा अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले “अपाङ्गता भएका महिलाहरूका लागि उद्यमशीलता विकास कार्यक्रम (खाद्य प्रशोधन, उत्पादन, व्यवसायिक योजना लेखन तथा बजारीकरण सम्बन्धी १० दिने तालिम)” सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त तालिम २०८२ साल चैत्र २२ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म नेपाल अपाङ्ग महिला संघ पुनर्स्थापना केन्द्र मा सञ्चालन गरिएको थियो। कार्यक्रममा ११ जना अपाङ्गता भएका महिला तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
नेपालमा धेरै अपाङ्गता भएका महिलाहरू अझै पनि आर्थिक, सामाजिक तथा शैक्षिक अवसरबाट वञ्चित रहँदै आएका छन्। सीप, रोजगारी तथा व्यवसाय सञ्चालनसम्बन्धी पर्याप्त अवसर र जानकारीको अभावका कारण उनीहरू आत्मनिर्भर बन्न कठिनाइ भोगिरहेका छन्। विशेष गरी घरमै बसेर गर्न सकिने आयआर्जनमूलक गतिविधिमा पहुँच सीमित हुँदा उनीहरूको आर्थिक अवस्था कमजोर रहँदै आएको सन्दर्भमा उक्त तालिम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्देश्य अपाङ्गता भएका महिलाहरूलाई व्यावहारिक सीप, उद्यमशीलता विकास, व्यवसायिक योजना लेखन तथा बजारीकरण सम्बन्धी ज्ञान प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर बनाउनु, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नु तथा सम्मानपूर्वक जीवनयापन गर्न सक्षम बनाउनु रहेको थियो।
१० दिनसम्म सञ्चालन गरिएको तालिममा प्रमुख प्रशिक्षक प्रमीला श्रेष्ठ तथा सहायक प्रशिक्षक पुषमाया राईले सहभागीहरूलाई रायोको सागको गुन्द्रुक, मुला तथा काउलीको चाना, अचार तथा चिप्समा प्रयोग हुने मसला, टिमुर, लसुन र खुर्सानीको छोप, आलुको चिप्स, मस्यौरा, अमला क्यान्डी, अमला तितौरा, सिद्रा तथा मासुको अचार, साथै मुला र खुर्सानीको अचार बनाउने व्यावहारिक सीप प्रदान गर्नुभएको थियो।
त्यसैगरी, होमनेट नेपाल का प्रशिक्षक ओम थपलियाले गुणस्तरीय तथा विषादीरहित कच्चा पदार्थ छनोट गर्ने तरिका, स्थानीय बजारमा कच्चा पदार्थको उपलब्धता, खाद्य सामग्रीको सरसफाइ तथा भण्डारण विधि, उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उपाय, आकर्षक लेबलिङ तथा प्याकेजिङ गर्ने तरिका, उत्पादनको लागत तथा मूल्य निर्धारण, व्यवसायिक योजना निर्माण, बजारीकरण रणनीति तथा ग्राहकसम्म उत्पादन पुर्याउने प्रक्रियाबारे व्यावहारिक जानकारी प्रदान गर्नुभएको थियो। उक्त कक्षाले सहभागीहरूलाई उत्पादन तयार गर्ने मात्र नभई त्यसलाई व्यवसायका रूपमा विकास गरी बजारसम्म पुर्याउने आत्मविश्वास र ज्ञानसमेत प्रदान गरेको थियो।
तालिममार्फत घरेलु सामग्री तथा न्यून लगानीमा घरमै बसेर उत्पादन गर्न सकिने अचार, चिप्स, गुन्द्रुक लगायत होटल तथा घरायसी प्रयोगमा लोकप्रिय विभिन्न खाद्य सामग्री उत्पादन गर्ने व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। साथै, उत्पादनको गुणस्तर कायम राख्ने, आकर्षक प्याकेजिङ गर्ने, उचित मूल्य निर्धारण गर्ने तथा बजार व्यवस्थापन सम्बन्धी ज्ञान प्राप्त भएपछि सहभागीहरूमा आफ्नै साना उद्यम सञ्चालन गर्न सकिने आत्मविश्वास समेत विकास भएको आयोजकले जनाएको छ।
कार्यक्रमले अपाङ्गता भएका महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भरतातर्फ प्रेरित गर्नुका साथै उनीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै, यस्ता सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन सके अपाङ्गता भएका महिलाहरूको दिगो आयआर्जन तथा सामाजिक सशक्तीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।