हालै रसुवा र नुवाकोटका विभिन्न विपद् प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको अवलोकन गर्ने क्रममा प्रभावित नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्ने अवसर प्राप्त भयो। भ्रमणका क्रममा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे विशेष चासोका साथ जानकारी लिइयो। साथै, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूसँग पनि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाका विषयमा छलफल गरियो।
बाढी, पहिरोको विपद्का कारण बज्रपात परेका, घर, सम्पत्ति र आफन्त गुमाएका पीडितहरू अहिले पनि गहिरो मानसिक तथा सामाजिक पीडामा छन्। यस्तो अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामान्य राहतभन्दा पनि उनीहरूको व्यक्तिगत अवस्था र विशेष आवश्यकताअनुसार सहयोग आवश्यक पर्न सक्छ। तर, प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क नै व्यवस्थित रूपमा उपलब्ध नभएपछि कसलाई के आवश्यक छ भन्ने पहिचान गर्न कठिन भइरहेको छ।
उदाहरणका लागि, कसैलाई हिँडडुलका लागि सहायक सामग्री आवश्यक हुन सक्छ भने कसैलाई औषधि, व्यक्तिगत सहयोग, पहुँचयुक्त शौचालय, सुरक्षित बसोबास वा मनोसामाजिक सहयोगको आवश्यकता हुन सक्छ। तर यस्ता आवश्यकताहरूको पहिचानका लागि पहिलो आधार नै प्रभावित व्यक्तिहरूको यकिन तथ्याङ्क हो। त्यसैले विपद् व्यवस्थापनको सुरुआती चरणमै अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै र अद्यावधिक तथ्याङ्क संकलन गर्ने व्यवस्था आवश्यक देखिन्छ।
भ्रमणका क्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूले भोगिरहेका समस्या र आवश्यकताबारे जानकारी लिने अवसर पनि प्राप्त भयो। उनीहरूको अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा सरकारलाई आवश्यक नीतिगत तथा व्यवहारिक कदम चाल्न कसरी घच्घच्याउने तथा व्यक्तिगत र संस्थागत रूपमा हामीले के–कस्ता भूमिका निर्वाह गर्न सक्छौँ भन्ने विषयमा समेत गम्भीर छलफल गरियो।
यस क्रममा WOREC नेपालद्वारा सञ्चालित स्नेह केन्द्र, प्रभावित महिलाहरूका लागि मनोसामाजिक सहयोगको अवस्था तथा महिला मैत्री स्थान (Women Friendly Space) को समेत अवलोकन गरियो। यस्ता संरचनाले विपद् प्रभावित महिला तथा बालबालिकालाई सुरक्षित वातावरण र आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
यस भ्रमणले विपद् प्रभावित क्षेत्रमा राहत पुर्याउँदा केवल खाद्यान्न र अन्य सामग्री वितरणमा मात्र सीमित नभई कसलाई कस्तो सहयोग आवश्यक छ भन्ने पहिचान गरेर लक्षित रूपमा सेवा पुर्याउनुपर्ने आवश्यकता पनि देखाएको छ। विशेषगरी अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका समूहको अवस्थालाई छुट्टै पहिचान गरी राहत तथा पुनर्स्थापनाको योजनामा समेट्न आवश्यक छ।
साथै, विपद् प्रभावित क्षेत्रमा पुग्ने सबैले केही आधारभूत मानवीय संवेदनशीलतालाई ध्यान दिन जरुरी छ।
पीडितको सहमतिबिना तस्बिर नखिचौँ।
होल्डिङ सेन्टर वा प्रभावित क्षेत्रमा पुग्दा पीडित व्यक्तिको अनुमति र सहमतिबिना तस्बिर तथा भिडियो खिच्नु हुँदैन। विपद्मा परेका मानिसहरूको पीडालाई प्रचारको विषय बनाउनुको सट्टा उनीहरूको गोपनीयता, आत्मसम्मान र मर्यादालाई प्राथमिकता दिनुपर्छ।
पीडितको घाउ नकोट्याऔँ।
आफ्नो सर्वस्व गुमाएका मानिसहरूलाई पटक–पटक “के भयो?”, “कसरी भयो?” भनेर घटनाको स्मरण गराउनु उनीहरूका लागि थप पीडादायी हुन सक्छ। सहयोग गर्न जानेहरूले उनीहरूको विगतको पीडा बल्झाउनेभन्दा आवश्यक साथ, सहयोग र मनोबल प्रदान गर्नेतर्फ ध्यान दिन आवश्यक छ।
बालबालिकाको पोषणलाई प्राथमिकता दिऔँ।
विपद् प्रभावित शिविर तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि स्वच्छ, सुरक्षित, स्वास्थ्यवर्द्धक र पोषणयुक्त खानेकुराको व्यवस्था गर्नुपर्छ। चाउचाउजस्ता तत्काल उपलब्ध हुने खानेकुरामा मात्र निर्भर नभई बालबालिकाको उमेर र पोषण आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित आहार उपलब्ध गराउन आवश्यक छ।
रसुवा र नुवाकोटको भ्रमणका क्रममा देखिएको अवस्थाले एउटा महत्वपूर्ण कुरा स्पष्ट पारेको छ विपद्का बेला राहत पुर्याउनु जति महत्वपूर्ण छ, सही व्यक्तिसम्म सही सहयोग पुर्याउनु त्यसभन्दा कम महत्वपूर्ण छैन। त्यसका लागि प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क, उनीहरूको अवस्था र आवश्यकताको पहिचान तथा त्यसअनुसारको समावेशी विपद् व्यवस्थापन प्रणाली निर्माण गर्न अब ढिला गर्नु हुँदैन।