News

अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रजनन स्वास्थ्य अधिकार र पहुँच सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम

FWLD नेपालले Ipas नेपाल र NDWA सँगको समन्वयमा २०२६ मार्च १६–१७ मा काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रजनन स्वास्थ्य अधिकार र पहुँच सम्बन्धी दुई दिने “अन्तरक्रियात्मक छलफल कार्यक्रम” आयोजना गर्‍यो। कार्यक्रमको मुख्य उद्देश्य विभिन्न जिल्लाका स्थानीय नागरिक समाज संस्थाहरू (CSOs) लाई अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अधिकार र कानुनी संरचना सम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवाहरूलाई गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ बनाउनेतर्फ उन्मुख गराउनु थियो।

कार्यक्रममा समेटिएका प्रमुख विषयहरू यस प्रकार थिएः
• यौन तथा प्रजनन स्वास्थ्य अधिकारका अवयवहरू
• यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कानुनी प्रावधानहरू
• जलवायु र अपाङ्गता न्याय
• अपाङ्गतामैत्री सेवा
• अपाङ्गतामैत्री प्रजनन स्वास्थ्यसम्बन्धी मार्गनिर्देशन

सत्रहरू अन्तरक्रियात्मक समूह छलफल तथा प्रस्तुतिमार्फत सञ्चालन गरिएका थिए। सहभागीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा सरकारले बनाएका विभिन्न कानुनी प्रावधानहरूबारे गहिरो रूपमा सिक्ने अवसर प्राप्त गरे। साथै, जलवायु र अपाङ्गता न्याय सम्बन्धी सत्रहरूले जलवायु परिवर्तन र अपाङ्गताबीचको सम्बन्ध तथा यसले विभिन्न सीमान्तकृत समूहहरूमा पार्ने फरक–फरक प्रभावबारे जानकारी प्रदान गर्‍यो।

नेपाल अपाङ्ग महिला संघको अध्यक्ष मिना पौडेलले अपाङ्गता-मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शनमा एक सत्र सञ्चालन गर्नुभयो। मार्गदर्शनको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई परिवार नियोजन, सुरक्षित गर्भपतन, मातृ स्याहार र नवजात शिशु स्याहार जस्ता महत्त्वपूर्ण सेवाहरूमा अन्यसरह समान पहुँच सुनिश्चित गर्नु हो। सत्रका क्रममा उहाँले समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी हेर्छ र ती दृष्टिकोणहरूले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) सेवामा उनीहरूको पहुँचलाई कसरी प्रभाव पार्छ भन्नेबारे पनि छलफल गर्नुभयो। उहाँले नकारात्मक धारणा, भेदभाव र सचेतनाको कमीले विशेष गरी अपाङ्गता भएका महिलाहरूका लागि अवरोध सिर्जना गर्ने कुरा उल्लेख गर्नुभयो।उहाँले यी दृष्टिकोणहरू परिवर्तन गर्नु, सेवाहरूलाई समावेशी र पहुँचयोग्य बनाउनु, तथा प्रजनन स्वास्थ्यका सबै पक्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूको गरिमा, सम्मान र समान अधिकार सुनिश्चित गर्नुको महत्त्वमा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले सुरक्षित गर्भपतन अभ्यास तथा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवाका लागि वकालत गर्न आफूहरू थप आत्मविश्वासी भएको बताएका थिए।

← Previous Article All Articles Next Article →