वर्षौंदेखि रत्ननगरका व्यस्त बैंकहरू धेरै अपाङ्गता भएका व्यक्तिहरू (PWDs) का लागि परायाजस्ता स्थान थिए। भौतिक सिँढीहरूभन्दा बाहिर पनि अदृश्य पर्खालहरू थिए, थकाइलाग्दा लाइनहरू, वित्तीय उत्पादनहरूको अभाव, र बैंक कर्मचारीहरूमा अपाङ्गतासम्बन्धी सचेतनाको कमी। उद्यमशीलता र व्यक्तिगत वित्तमा संलग्न हुने चाहना हुँदाहुँदै पनि अपाङ्गता भएका व्यक्तिहरूको समुदाय औपचारिक अर्थतन्त्रबाट प्रभावकारी रूपमा बाहिर थियो।
परिवर्तनको सुरुवात अप्रिल २०२५ मा भयो। फाईदा परियोजनाअन्तर्गत नेपाल अपाङ्ग महिला संघ (NDWA) ले दुई दिने कार्यशाला सञ्चालन गर्यो। यो केवल सामान्य प्रशिक्षण थिएन; यो वित्तीय साक्षरता र अधिकार–आधारित पैरवीसम्बन्धी रणनीतिक सत्र थियो।
परियोजनाका लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेसीकरण (GEDSI) सल्लाहकारले स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको संस्था (OPDs) र स्वावलम्बी समूहका सदस्य सहभागीहरूलाई केवल वित्तीय शब्दावली मात्र सिकाएनन्, बरु यो आत्मविश्वास पनि दिए—“वित्तीय समावेशन कुनै कृपा होइन; यो हाम्रो अधिकार हो।” उनीहरूले स्थानीय शासन प्रणाली कसरी सञ्चालन हुन्छ भन्ने सिके र प्रणालीगत परिवर्तनका लागि आफ्नो आवाज कसरी उठाउने भन्ने सीप हासिल गरे।
तालिमको वास्तविक प्रभाव त्यसबेला देखियो जब रत्ननगर नगरपालिका अपाङ्गता समन्वय समितिले नेतृत्व लियो। उल्लेखनीय स्थानीय स्वामित्व प्रदर्शन गर्दै, उनीहरूले बाह्य स्रोतको प्रतीक्षा गरेनन्। बरु, रत्ननगर नगरपालिकाको सामुदायिक पुनर्स्थापना (CBR) बजेट परिचालन गर्न सफल भए।
फाईदा परियोजनाको प्राविधिक सहयोग र नवप्राप्त पैरवी सीपसहित, उनीहरू कक्षाबाट सडकसम्म पुगे। जनवरी १८ र २०, २०२६ मा समितिले रत्ननगरका १४ वटा बैंकहरूमा अभियान सञ्चालन गर्यो। यो केवल शिष्टाचार भेटघाट थिएन। रत्ननगर नगरपालिका अपाङ्गता समन्वय समितिका प्रतिनिधिहरूले बैंक प्रबन्धकहरूसँग भेट गरी स्पष्ट सन्देश दिए—
“वित्तीय सेवाहरू समावेशी, पहुँचयोग्य र मर्यादित हुनुपर्छ।”
उनीहरूले अपाङ्गता–मैत्री भौतिक संरचना र समावेशी सेवाहरूको आवश्यकताबारे औपचारिक ध्यानाकर्षण पत्र पेश गरे। तत्काल समावेशनतर्फ व्यावहारिक कदमका रूपमा, उनीहरूले बैंकका प्रमुख स्थानहरूमा “प्राथमिकता सेवा” स्टिकर हस्तान्तरण तथा टाँस्ने कार्य गरे। यी स्टिकरहरू अहिले कर्मचारी र सेवाग्राही दुवैका लागि दैनिक स्मरण बनेका छन् । रत्ननगरका १० बैंकहरूमा अपाङ्गता भएका व्यक्तिहरूले अब लामो लाइनको कष्ट सहनु पर्दैन।
यो पहल ऐतिहासिक “पहिलो कदम” हो। यसले प्रमाणित गर्छ कि जब अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू (OPDs) लाई उचित तालिम र सशक्तिकरण दिइन्छ, उनीहरू परिवर्तनका सबैभन्दा प्रभावकारी प्रतिनिधि बन्छन्।
रत्ननगरमा प्रभाव केवल कागजी प्रतिवेदनमा सीमित छैन। यो १० बैंकका सिसाका ढोकामा देख्न सकिन्छ। यो बैंक प्रबन्धकहरूको व्यवहारमा महसुस गर्न सकिन्छ, जहाँ अब अपाङ्गता भएका व्यक्तिहरूलाई सेवाग्राहीको रूपमा हेरिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, यो अपाङ्गता भएका व्यक्तिहरूको समुदायको आत्मविश्वासमा देखिन्छ, जसले अहिले आफ्नै आर्थिक स्वतन्त्रताको यात्राको नेतृत्व गरिरहेका छन्।
फाईदा परियोजनाको हस्तक्षेपले स्थानीय सोचलाई दान–आधारित दृष्टिकोणबाट अधिकार–आधारित दृष्टिकोणतर्फ सफलतापूर्वक रूपान्तरण गरेको छ। स्थानीय सरोकारवालाहरूको क्षमता विकासमार्फत, हामीले केवल एउटा परियोजना कार्यान्वयन गरेका छैनौं; हामीले रत्ननगरमा वित्तीय न्यायका लागि दिगो अभियानको सुरुवात गरेका छौं।
“यस तालिमले हामीलाई केवल बैंकिङबारे सिकाएन; यसले सबैका लागि ती बैंकका ढोकाहरू कसरी खोल्ने भन्ने सिकायो। हाम्रो पैरवी नगरपालिका तहमा वास्तविक कार्यमा परिणत भएको देख्नु नै हाम्रो सबैभन्दा ठूलो सफलता हो,”- मिनराज खनाल, अध्यक्ष, रत्ननगर अपाङ्गता समन्वय समिति।