Entrepreneurship

मिन बहादुर वि.क.: दृढता, सीप र नेतृत्वको उदाहरण

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २५ निवासी मिन बहादुर बि.क. आज समुदायका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । जीवनका कठिन परिस्थितिहरूलाई अवसरमा रूपान्तरण गर्दै उहाँले स्वावलम्बन, आत्मविश्वास र सामाजिक नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गर्नुभएको छ ।

सन् २००८ तिर मलेसियामा रोजगारीका क्रममा भएको दुर्घटनाले मिन बहादुरको जीवनमा ठूलो मोड ल्यायो। मेरुदण्डमा चोट लागेपछि शारीरिक गतिशीलता सीमित भए पनि उहाँको मनोबल कहिल्यै सीमित भएन । नेपाल फर्किएपछि उहाँले “के गर्न सकिन्छ” भन्ने दृष्टिकोण अपनाउँदै नयाँ सुरुवात गर्नुभयो । सानो किराना पसल सञ्चालन गर्दै र बाख्रा–कुखुरा पालन गरेर उहाँले आफ्नो आर्थिक स्वावलम्बनको यात्रा सुरु गर्नुभयो ।

उहाँका लागि यो यात्रा सजिलो थिएन, तर दृढता, परिवारको साथ र निरन्तर प्रयासले उहाँलाई समाजमा अझ बलियो बनायो। श्रीमतीसँगको सहकार्यले उहाँको जीवनमा नयाँ ऊर्जा र सम्भावना ल्यायो । “हामी दुबै मिलेर जे गर्न सक्छौं, त्यही हाम्रो शक्ति हो,” भन्नुहुन्छ मिन बहादुर ।

फाइदा परियोजनासँगको संलग्नताले उहाँको दृष्टिकोण र क्षमतामा उल्लेखनीय रूपान्तरण ल्यायो। परियोजनाबाट उहाँले वित्तीय साक्षरता, अधिकार सुदृढीकरण, समावेशी नेतृत्व र सामुदायिक सहभागिताका विषयमा गहिरो ज्ञान प्राप्त गर्नुभयो । अहिले उहाँ वित्तीय समावेशी युवा च्याम्पियनको रूपमा समुदायमा सन्देश फैलाउँदै हुनुहुन्छ, जसले देखाउँछ कि अपाङ्गता भएका व्यक्तिहरू पनि आफ्नो सीप, दक्षता र आत्मविश्वासका आधारमा नेतृत्व गर्न सक्छन् ।

मिन बहादुर अहिले वित्तिय साक्षरता र डिजिटल सचेतनाका विषयमा स्थानीय युवाहरूसँग नियमित संवाद गर्नुहुन्छ । उहाँका प्रयासले समुदायमा सकारात्मक व्यवहार परिवर्तन देखिएको छ । मानिसहरूले अहिले आफ्ना मोबाइल, बैंक र डिजिटल खाताको सुरक्षा गर्न सिकिरहेका छन् र आत्मनिर्भर बन्ने सोच विकास भइरहेको छ। मिन बहादुरको कथा साहस र सम्भावनाको कथा हो। उहाँले देखाउनुभएको निरन्तरता, आत्मविश्वास र दृढता अरु युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। उहाँले प्रमाणित गर्नुभएको छ सीमितता भन्दा ठूलो कुरा मनको शक्ति र सकारात्मक सोच हो ।

“म अपाङ्गता भएको व्यक्ति भइकन पनि सक्षम छु, फरक सीप र दृष्टिकोणका साथ । मेरो अपाङ्गता नै मेरो प्रेरणा हो ।” – मिन बहादुर वि.क.

← Previous Story All Stories Next Story →