२०४५ वि.सं.मा बाबु गकुलप्रसाद शिवाकोटी र आमा लक्ष्मी शिवाकोटीकी कान्छी सन्तानका रूपमा मेरो जन्म भयो। सानैदेखि बाबा–आमाको मायामै हुर्कने सौभाग्य पाएँ, र दाजुको स्नेहले मेरो बाल्यकाल झन् उज्यालो बनायो। मैले कक्षा ५ सम्म श्री मजुवा प्राथमिक विद्यालयमा र कक्षा ६ देखि १२ सम्म श्री कालीनाग माध्यमिक विद्यालयमा अध्ययन गर्ने अवसर पाएँ।
बाल्यकालबाट किशोरावस्थातर्फ अघि बढ्दै जाँदा शारीरिक तथा मानसिक परिवर्तनहरूले केही चुनौतीहरू ल्याए। तर, यही समय मेरो जीवनमा अझ ठूलो परिवर्तनको सुरुआत पनि बन्यो। दाजुमा रहेको रतन्धोको समस्याकै बीच एकदिन राति बाहिर हिँड्दा मैले आफूमा पनि त्यही समस्या रहेको थाहा पाएँ। त्यसपछि चिन्ता र अन्योलबीच मैले आफ्नो दैनिकी अघि बढाएँ। कठिनाइका बाबजुद पनि कक्षा १२ सम्मको अध्ययन पूरा गरेँ। तर, परीक्षाको समयमा मेरा आँखाहरुमा बादल लाग्ने समस्या हुँदा लेख्न कठिन भयो र नतिजा अपेक्षाअनुसार आउन सकेन।अस्पतालमा जाँच गराउँदा डाक्टरले यो समस्या जन्मजात भएको र बिस्तारै दृष्टि गुम्दै जाने बताउनुभयो। समयसँगै उहाँको भनाइ सत्य साबित भयो, र करिब २३ वर्षको उमेरमा मैले पूर्ण रूपमा दृष्टि गुमाएँ।
म आफ्ना बाबा–आमाको ठूलो आशा र भरोसा थिएँ। तर आफूमा समस्या देखिएपछि मलाई आफ्नो भन्दा उनीहरूको मन दुख्ने चिन्ता बढी लाग्थ्यो। त्यसैले सक्दो समयसम्म आफ्नो अवस्था लुकाएँ। अस्पतालसम्म पनि एक्लै गएर उपचार गराएँ। बाबाको देहान्तले गहिरो पीडा दिए पनि उहाँले मेरो दृष्टि गुमेको कुरा थाहा नपाई जानु भएकोमा भने केही सान्त्वना मिल्यो। उहाँले परिवारको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा छोडेर जानु भएको थियो, तर भित्रभित्रै म कमजोर बन्दै गइरहेकी थिएँ।
एकातिर आफ्नै समस्या गहिरिँदै थियो भने अर्कोतिर परिवारको जिम्मेवारीले थिचिरहेको थियो। मनका कुरा सुनिदिने कोही नभएको अनुभूति बढ्दै गयो। छिमेकी वा साथीहरूसँग पनि आफ्नो अवस्था साझा गर्न सकिनँ हाँसोको पात्र बन्ने डरले। समाजका केही व्यक्तिहरूले अभद्र व्यवहार समेत गरे, कसैले निराशाजनक कुरा गरे भने कसैले हौसला पनि दिए।
यही संघर्षका बीच पनि मैले आफ्नो भविष्य खोज्ने प्रयास छोडिनँ। पढाइप्रतिको इच्छा मरेको थिएन। यस क्रममा विद्यालयका शिक्षक र साथीहरूको साथ–सहयोग अमूल्य रह्यो। विशेष गरी कक्षा ११–१२ मा विद्यालय प्रशासन र गुरुजनहरूले आर्थिक, मानसिक, सामाजिक तथा भावनात्मक रूपमा मलाई धेरै साथ दिनुभयो, जसले मलाई अगाडि बढ्न प्रेरित गर्यो।
दृष्टि गुम्दै जाँदा र पारिवारिक तथा आर्थिक अवस्था कमजोर हुँदै जाँदा म थप चुनौतीमा परेँ। तर अवसरको खोजी जारी राखेँ। यही क्रममा नेपाल अपाङ्ग महासंघले सञ्चालन गरेको समूहबारे जानकारी पाएँ र त्यसमा आबद्ध भएँ। त्यो मेरो जीवनको महत्वपूर्ण मोड सावित भयो। त्यसैमार्फत म कीर्तिपुरस्थित TSDCBD नामक संस्थासम्म पुग्न सकेँ, जहाँ मैले मानसिक रूपमा बलियो बन्ने, कम्प्युटर तथा ब्रेल सीप सिक्ने अवसर पाएँ। आफूजस्तै साथीहरूसँगको संगतले आत्मविश्वास बढ्दै गयो। विशेषगरी एक साथीको निरन्तर साथ र हौसलाले मेरो जीवनमा सकारात्मक परिवर्तन ल्यायो।
यसै क्रममा नेपाल अपाङ्ग महिला संघसँग पनि मेरो भेट भयो। उहाँहरूले मेरो अवस्था बुझेर पढाइप्रति मेरो लगावलाई सम्मान गर्दै निःशुल्क आवास र भोजनको व्यवस्था मिलाइदिनुभयो। त्यसपछि म काठमाडौँ आएँ र क्याम्पस खोज्न थालेँ। अन्ततः श्री गणेश बहुमुखी क्याम्पसमा भर्ना भएँ। प्रारम्भमा चुनौती भए पनि आफ्नो दृढताले सबैलाई विश्वास दिलाउन सफल भएँ।
पढाइप्रतिको लगाव र मेहनतका कारण म क्रमशः अगाडि बढ्दै गएँ। शिक्षकहरूको माया, क्याम्पसको वातावरण र नेपाल अपाङ्ग महिला संघको होस्टेलले मलाई परिवारजस्तै साथ दियो। शिक्षकहरूको प्रेरणाले मैले शिक्षक अध्यापन अनुमति पत्रको तयारी गरेँ र सफल पनि भएँ। साथै, शिक्षक सेवा आयोगको तयारी पनि अघि बढाएँ। तर, आमाको स्वास्थ्य समस्याका कारण अन्तिम चरणमा अपेक्षित सफलता हासिल गर्न सकिनँ।
पछि श्री मनोहर माध्यमिक विद्यालयमा राहत दरबन्दी खुलेको थाहा पाएँ। त्यसमा सहभागी भई मेहनत, साथ–सहयोग र आत्मविश्वासका बलमा सफल हुन सकेँ। यससँगै मैले शिक्षकका रूपमा आफ्नो पहिचान बनाउने अवसर पाएँ। साथै स्नातक तहको अध्ययन पनि पूरा गर्न सफल भएँ।
हाल विद्यालयमा कार्यरत रहँदा सहकर्मी, प्रशासन र विद्यार्थीहरूबाट माया र सम्मान पाउँदै आएको छु। नेपाल अपाङ्ग महिला संघको होस्टेलमा बिताएको समयले मलाई आत्मनिर्भर र सक्षम बन्न ठूलो भूमिका खेलेको छ।
नेपाल अपाङ्ग महिला संघले मेरो आत्माविश्वास बढाउनुका संगै मलाई आत्मानिर्भर बन्न पनि मद्धत गरेको छ ।आजसम्मको मेरो सफलताको यात्रामा नेपाल अपाङ्ग महिला संघको योगदान अत्यन्त महत्वपूर्ण छ। आगामी दिनहरूमा पनि उहाँहरूको साथ, माया र सहयोगको अपेक्षा राख्दै, शारीरिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा सधैं यस संस्थासँग जोडिरहने प्रतिबद्धता व्यक्त गर्दछु।