नेपाल अपाङ्ग महिला संघ (NDWA) ले अपाङ्गतामैत्री न्याय तथा लैङ्गिक हिंसा (GBV) प्रतिकार्य सेवाहरू सुदृढीकरण गर्ने गतिविधिअन्तर्गत दोस्रो दुईदिने तालिम सञ्चालन गरेको छ। काठमाडौं उपत्यकाका न्याय तथा सेवा प्रदायक निकायका ५९ जना प्रतिनिधिहरूको सहभागितामा तालिम सम्पन्न भएको हो। सहभागीहरूमध्ये अपाङ्गता नभएका २० जना पुरुष र ३८ जना महिला तथा एक जना अपाङ्गता भएकी महिला रहेका थिए। सहभागीहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सामुदायिक प्रहरी तथा अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मीना पौडेलद्वारा सहजीकरण गरिएको तालिममा अपाङ्गता, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँचयोग्य न्याय, सम्बन्धित कानुनी तथा नीतिगत व्यवस्था र अपाङ्गतामैत्री सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो। साथै, अपाङ्गता भएका महिलाहरूका लागि सञ्चालन गरिएका कार्यक्रम तथा सम्बन्धित सरोकारवालासँगको पैरवी र समन्वयलगायत संघका कार्यहरूबारे जानकारी प्रदान गरिएको थियो। तालिममा नेपालको संविधान, २०७२, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा अन्य सान्दर्भिक कानुनी र नीतिगत व्यवस्थाहरूबारे समेत चर्चा गरिएको थियो।
तालिममा न्याय तथा सहयोग सेवामा पहुँच प्राप्त गर्ने क्रममा अपाङ्गता भएका महिला तथा बालिकाहरूले सामना गर्नुपर्ने विभिन्न अवरोधहरूबारे प्रकाश पारिएको थियो। आफ्ना अधिकारबारे सीमित जानकारी, पहुँचयोग्य भौतिक संरचनाको अभाव, सञ्चारसम्बन्धी अवरोध तथा सुरक्षा चुनौतीहरूलाई प्रमुख समस्याका रूपमा पहिचान गरिएको थियो। सहभागीहरूले अपाङ्गता भएका महिला तथा बालिकासँग सम्बन्धित घटनाहरूमा प्रतिक्रिया दिँदा अपाङ्गताप्रति संवेदनशील तथा समावेशी दृष्टिकोण अपनाउनुपर्ने आवश्यकताबारे छलफल गरेका थिए।
समूहगत छलफल तथा सामूहिक प्रस्तुतिमार्फत सहभागीहरूले आ–आफ्नो कार्यक्षेत्रमा रहेका चुनौतीहरू पहिचान गर्नुका साथै विद्यमान सहयोग प्रणालीको समीक्षा गरेका थिए। साथै, सम्बन्धित सरोकारवालाबीच समन्वय तथा प्रेषण प्रणाली (Referral Mechanism) सुदृढ गर्न आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए। छलफलका क्रममा एकद्वार संकट व्यवस्थापन केन्द्रका विद्यमान निर्देशिका तथा कार्यविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सेवा सुविधालाई पहुँचयोग्य बनाउने र विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको विविध आवश्यकताअनुसार सेवा प्रदान गर्न सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो।
एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) की लैङ्गिक हिंसासम्बन्धी विशेषज्ञ परामर्शदाताले पनि अपाङ्गतामैत्री सेवा तथा अपाङ्गता भएका महिला र बालिकाहरूको व्यक्तिगत आवश्यकताअनुसार उपयुक्त सहयोग प्रदान गर्न सक्ने दक्ष तथा प्रशिक्षित जनशक्तिको आवश्यकता औँल्याउनुभयो।
तालिमको समापनमा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै न्याय तथा सहयोग सेवाहरूलाई थप पहुँचयोग्य, समन्वयात्मक, अपाङ्गतामैत्री र सेवाग्राहीको आवश्यकताप्रति उत्तरदायी बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए।
यस पहलले अपाङ्गता भएका महिला तथा बालिकाहरूको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न न्यायिक निकाय तथा सेवा प्रदायकहरूको क्षमता सुदृढ गर्नुका साथै न्याय, संरक्षण तथा सहयोग सेवामा उनीहरूको समान पहुँच सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।