Disability rights

म अनागरिक किन?

रेश्मा (नाम परिवर्तन) को जन्म २०५४ साल असोज ५ गते भएको थियो। गरिब परिवारकी उनी कक्षा ७ मा अध्ययनरत रहँदा विवाह भयो । तीन दिन रेलको यात्रा गरेर जब उनी श्रीमान् को घर पुगिन्, त्यहाँ आफ्नो उमेरका चार जना छोराछोरी देखिन्। माइतीघर मात्र होइन, आफ्नै देशबाट पनि टाढा पुगेकी उनी निकै आत्तिएकी थिइन्। त्यही पहिलो रात श्रीमान् ले उनीमाथि विभिन्न प्रकारका हिंसा गरे। भोलिपल्ट उनलाई श्रीमान् को भाइको घरमा राखियो।

रेश्मा (नाम परिवर्तन) को जन्म २०५४ साल असोज ५ गते भएको थियो। गरिब परिवारकी उनी कक्षा ७ मा अध्ययनरत रहँदा विवाह भयो । तीन दिन रेलको यात्रा गरेर जब उनी श्रीमान् को घर पुगिन्, त्यहाँ आफ्नो उमेरका चार जना छोराछोरी देखिन्। माइतीघर मात्र होइन, आफ्नै देशबाट पनि टाढा पुगेकी उनी निकै आत्तिएकी थिइन्। त्यही पहिलो रात श्रीमान् ले उनीमाथि विभिन्न प्रकारका हिंसा गरे। भोलिपल्ट उनलाई श्रीमान् को भाइको घरमा राखियो।

अर्को दिन बिहानै गाउँका एक मुखियाजस्ता देखिने व्यक्तिले भने, “जोसँग तिमी आयौ, उसले तिमीलाई १७ हजार रुपैयाँमा बेचिसक्यो। सके भाग, नत्र आज तिमीलाई लैजान्छन्।” यो सुनेपछि रेश्माले जसरी भए पनि आफ्नो जीवन बचाउने निर्णय गरिन्। अनेकौं दुःख र जोखिम पार गर्दै उनी नेपालमा आफ्नो घर फर्कीइन । घर फर्किएपछि उनले पुनः विद्यालय जान थालिन्। तर कक्षा ९ मा पुग्दा विद्यालय शुल्क तिर्न नसक्दा पढाइ छोड्नुपर्‍यो। त्यसपछि इँटा भट्टामा, खेतबारीमा ज्यालादारी गरेर तथा अरूको घरमा काम गरेर परिवारको आर्थिक भार थेग्न थालिन्।

यसै क्रममा उनको नजिकैको गाऊँमा विवाहका लागि कुरा चल्यो। समाजका अनेक टिप्पणीबाट आजित भएका उनका बुबाआमाले अन्ततः निकाह गराइदिए। तर विवाहपछि पनि श्रीमान् ले उनलाई आफ्नो घर लगेनन्। बरु उनी स्वयं ससुरालीमै बस्न थाले। विवाह भएको १३ दिनपछि श्रीमान् ले तत्काल काठमाडौं जान दबाब दिन थाले। रेश्माले पहिले आफैं गएर काम, कोठा र आवश्यक व्यवस्था मिलाएपछि मात्र सँगै जाने प्रस्ताव राखिन्। उनको यो आग्रह श्रीमान् लाई मन परेन। विवाह भएको करिब १५ दिनमै उनले रेश्मालाई कुटपिट गरे र छाडेर हिँडे। त्यसपछि उनी आजसम्म फर्किएका छैनन्।

२०७९ सालमा मेरो रेश्मासंग पहिलो भेट भयो। पहिलो भेटमै उनले सोधेको एउटा प्रश्न मेरो मनमा छोयो। “म्याम, नागरिकता पाउन विवाह नै गर्नुपर्छ भने म अर्को विवाह गर्न पनि तयार छु। समाजले भन्नलाई मेरो दुई पटक विवाह भयो, तर मैले न श्रीमान् पाएँ, न परिवार, न वैवाहिक सुख” । उनले सोधिन्, “नेपाली हुँ। बुबाआमासँग वंशजको नागरिकता छ। तर म अनागरिक किन?” उनको प्रश्नसँगै धेरै पीडा जोडिएका थिए। समाजले विवाह भएको देखेको थियो, तर उनले श्रीमान् र परिवार दुवै गुमाएकी थिइन्। नागरिकता नभएकै कारण बैंक खाता खोल्न सकिनन् । आफ्नो कमाइ सुरक्षित राख्ने अधिकारबाट समेत वञ्चित थिइन्। २५-२६ वर्षको उमेरमा पनि दाजु-भाउजूको कुटाइ सहन बाध्य थिइन्। उनी शारीरिक, मानसिक, सामाजिक र कानुनी हिंसाको निरन्तर सिकार बनेकी थिइन्। वडा अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग पटक-पटक छलफल गरियो। वडा अध्यक्षको असहयोगका कारण धेरै अवरोध सिर्जना भए। तर जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय, समुदायको साथ र संस्थागत पहलपछि अन्ततः २०८० साल भदौ २७ गते उनले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्। ”

दुई महिनाअघि मुक्ति नेपाल, नेपाल अपाङ्ग महिला संघ र सिबिएम ग्लोबलको संयुक्त आयोजनामा सञ्चालित IGNITE परियोजनामा पुनः जोडिने अवसर मिल्यो। परियोजनाअन्तर्गत हिंसा प्रतिरक्षा समूह गठन गर्ने क्रममा पालिकासँग समन्वय हुँदा रेश्मालाई पनि सहभागी गराउने सल्लाह भयो।बाल्यकालमा सुइरोले घोचिँदा उनको बायाँ आँखा देख्न छाडेको रहेछ। उनी प्रतिकार्य समूहको सदस्य बनेपछि थाहा भयो, उनको राष्ट्रिय परिचयपत्र अझै बनेको रहेनछ। नागरिकता बनाउन गरिएको सबै मेहनतको उद्देश्य नै अधुरो थियो। कारण फेरि उही वडा अध्यक्ष थिए। “मधेशकी, त्यो पनि मुस्लिम समुदायकी छोरी ३० वर्षसम्म अविवाहित बसेको पत्याउन सकिँदैन। वडाबाट अविवाहित प्रमाणपत्र ल्याउनुस्, अनि मात्र राष्ट्रिय परिचयपत्र बन्छ,” भन्ने जवाफ पाएर उनी निराश भईन्।

विवाहको नाममा बेचिएको घटना, दोस्रो विवाहपछि पनि घरपरिवारको कुनै अस्तित्व नरहेको अवस्था, नागरिकता बनाउन वडा अध्यक्षले पन्छिएको प्रसंग, र अन्ततः समुदाय तथा संस्थागत पहलका आधारमा अविवाहित नागरिकता बनेको सम्पूर्ण विवरण स्पष्ट रूपमा प्रमुख जिल्ला अधिकारीलाई प्रस्तुत गरियो। केही समय छलफलपछि प्रक्रिया अघि बढ्यो।गत असार ४ र ५ गते भएको प्रतिकार्य समूहको तालिमका क्रममा उनलाई साथमा लिएर दुई दिन जिल्ला प्रशासन कार्यालय धायौं। अन्ततः २०८३ साल असार ५ गते उनले राष्ट्रिय परिचयपत्र प्राप्त गरिन्। त्यो दिन उनको अनुहारमा देखिएको मुस्कान शब्दमा वर्णन गर्न सकिँदैनथ्यो। तालिमका सहभागीहरूमाझ आफ्ना भोगाइ सुनाउँदै उनले भनिन्, “नेपाली नागरिकका रूपमा आफ्नो परिचय पाउने आशा मैले लगभग मारिसकेकी थिएँ। तर सबैको सहयोगले आज यो सम्भव भयो।”

उनले IGNITE परियोजना टोली, सम्बन्धित निकाय र साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरिन्। रेश्माको कथा एउटी महिलाको व्यक्तिगत संघर्ष मात्र होइन। यो हाम्रो समाज, हाम्रो प्रशासनिक प्रणाली र नागरिकताको अधिकारसँग जोडिएको गम्भीर प्रश्न पनि हो।आज पनि धेरै रेश्माहरू एउटै प्रश्न सोधिरहेका छन्: “नेपाली हुँ, तर म अनागरिक किन?”

लक्ष्मी खरेल , DCCO Mukti Nepal

← Previous Story All Stories Next Story →