नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लुए) ले बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता भएका महिलाहरू माथि हुने लैङ्गिक हिंसा सम्बोधन गर्न नयाँ परियोजनाको औपचारिक सुरुवात गरेको छ। जुलाई १७, २०२४ मा आयोजित सुरुवाती बैठकमा उपमेयर अनिता लामा, विभिन्न वडा अध्यक्षहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल र अपाङ्गता समन्वय समिति (डीसीसी) का सदस्यहरू, साथै एनडीडब्लुएका पदाधिकारी तथा कर्मचारीहरू र बूढानीलकण्ठ नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूका संघसंस्था (ओपीडी) का सदस्यहरू सहित ४२ जनाको सहभागिता रहेको थियो।

बैठकका क्रममा उपमेयर लामाले लक्षित समूहमा परियोजनाले पार्ने सकारात्मक प्रभावको महत्वमाथि जोड दिँदै कार्यक्रम सुचारु रूपले सञ्चालन गर्न नगरपालिकाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभयो। आयोजना संयोजक आयुष्का श्रेष्ठले सन् २०२७ सम्म बूढानीलकण्ठ नगरपालिकामा सञ्चालन हुने परियोजनाका गतिविधि र योजनाहरूको विस्तृत जानकारी दिनुभयो। अध्यक्ष टीका दाहालले पनि लैङ्गिक हिंसाबाट प्रभावित अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने परियोजनाको उद्देश्यमाथि प्रकाश पार्नुभयो। यो परियोजना सीबीएम ग्लोबलको सहकार्यमा कार्यान्वयन गरिने छ।