नेपाल अपाङ्ग महिला संघ(NDWA) ले १५ देखि १८ अक्टोबर २०२५ सम्म कालिकोट र सुर्खेत जिल्लामा नागरिक समाज संस्थाहरू (CSOs) का लागि स्थानीय सरकारको योजना प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य स्थानीय तहको योजना र बजेट विकास प्रक्रियाप्रति सहभागीहरूको बुझाइ अभिवृद्धि गर्नु र यस सम्बन्धमा विद्यमान ज्ञान तथा सीप अभावलाई सम्बोधन गर्नु थियो।
अभिमुखीकरणका क्रममा सहभागीहरूले स्थानीय सरकारको योजना प्रक्रियाबारे जानकारी हासिल गरे र वकालत तथा पैरवीका लागि नागरिक समाजहरुले अपनाउन सक्ने रणनीतिहरूमा छलफल गरे। कार्यक्रममा सहभागीहरूले सहभागी र समावेशी शासन प्रवर्द्धनमा नागरिक समाजको भूमिकाबारे विचार साटासाट गरे।
कार्यक्रमका दौरान नागरिक समाजको प्रतिनिधिहरूले स्थानीय तहमा शिक्षा योजना र बजेट प्रक्रियामा उनीहरूको सहभागितामा देखा पर्ने मुख्य चुनौतीहरूबारे पनि साझा गरे। विश्वासको कमी, राजनीतिक अस्थिरता, र स्थानीय सरकारसँग समन्वय र सहकार्यको अभाव जस्ता समस्याहरू प्रमुख चुनौतीका रूपमा उल्लेख गरिए। सहभागीहरूले विद्यालय, वडा, नगरपालिका र प्रदेश तहका संस्था, समुदाय र नागरिक समाजबीच बलियो सहकार्य आवश्यक रहेको औंल्याए।
कार्यक्रमको दोस्रो दिन सहभागीहरूले समूहगत गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै समावेशी र न्यायसंगत बजेट निर्माणमा नागरिक समाजको भूमिकाबारे छलफल गरे। उनीहरूले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, शिक्षा, खानेपानी र सरसफाइ, खाद्य सुरक्षा, रोजगार, महिलाको सशक्तिकरण र स्वास्थ्यलाई स्थानीय विकासका प्राथमिक क्षेत्रका रूपमा पहिचान गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले आफ्ना स्थानीय सरकारहरूका लागि कार्ययोजना तयार पारे। प्रत्येक कार्ययोजनामा गतिविधिहरू, समयसीमा, जिम्मेवार व्यक्ति र समन्वय निकायको स्पष्ट विवरण समावेश गरिएको थियो।
अभिमुखीकरण सम्पन्न हुँदै गर्दा सहभागीहरूले स्थानीय सरकारसँग सहकार्य सुदृढ गर्ने र समुदायस्तरमा अझ पारदर्शी, समावेशी र उत्तरदायी योजना तथा बजेट प्रक्रियामा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
English