नेपाल अपाङ्ग महिला संघ (NDWA) ले काठमाडौँ, गोरखा र कञ्चनपुर जिल्लाका केही मतदान केन्द्रहरूमा गरेको पर्यवेक्षणले निर्वाचन प्रक्रिया समग्रमा शान्तिपूर्ण र आंशिक रूपमा समावेशी रहेको देखाएको छ। यद्यपि, पहुँच, सेवा सुविधा र मतदाता शिक्षासम्बन्धी केही महत्वपूर्ण चुनौतीहरू पनि उजागर भएका छन्।
पर्यवेक्षणका क्रममा निर्वाचन अधिकृतहरू सहयोगी, उत्तरदायी र सूचना आदानप्रदानमा सक्रिय रहेको पाइयो। उनीहरूले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान प्रक्रियामा प्रत्यक्ष सहयोग पुर्याएका थिए। दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका, बहिरा तथा डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। केही स्थानमा बहिरा दम्पतीहरूले स्वतन्त्र रूपमा मतदान गरेका थिए भने डाउन सिन्ड्रोम भएका व्यक्तिहरू परिवारको साथमा आएका थिए।
मतदान प्रक्रिया पारदर्शी र विश्वसनीय रहेको पनि पाइएको छ। मतदान सुरु हुनु अघि रित्तो मतपेटिका देखाउने र मतदान सम्पन्न भएपछि मुचुल्का उठाउने प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गरिएको थियो।
तर, केन्द्र व्यवस्थापन र भौतिक पहुँचका सन्दर्भमा चुनौतीहरू देखिएका छन्। काठमाडौँस्थित एक उप-स्वास्थ्य चौकीमा सञ्चालन गरिएको मतदान केन्द्र सानो र साँघुरो भएकाले ह्विलचेयर प्रयोगकर्ताका लागि पहुँचको व्यवस्था नभएको पाइएको छ। साथै, एउटै परिसरभित्र चारवटा मतदान केन्द्र राखिँदा अत्यधिक भीडभाड र भद्रगोल देखिएको थियो, जसले अपाङ्गता भएका व्यक्तिहरूको आवागमनमा कठिनाइ उत्पन्न गरेको थियो। कञ्चनपुरको लक्ष्मी माध्यमिक विद्यालयमा प्रवेश मार्ग पहुँचयोग्य भए पनि निस्कने स्थान टाढा रहेको पाइयो। यद्यपि, त्यहाँका निर्वाचन अधिकृतहरूले अपाङ्गता भएका मतदातालाई प्रवेशद्वारबाटै बाहिरिन अनुमति दिई लचकता अपनाएका थिए।
सेवा सुविधा र स्वास्थ्य सुरक्षाका हिसाबले धेरैजसो केन्द्रमा खानेपानीको व्यवस्था भए पनि प्राथमिक उपचार सामग्री, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स सेवा उपलब्ध नभएको देखिएको छ। कञ्चनपुरको एक केन्द्रमा स्तनपान कक्षको व्यवस्था गरिएको सकारात्मक अभ्यासका रूपमा उल्लेख गरिएको छ। तर, बहिरा मतदाताका लागि साङ्केतिक भाषा दोभाषेको व्यवस्था कुनै पनि केन्द्रमा नभएको पाइएको छ।
मतदाता शिक्षा र सुरक्षासम्बन्धी विषयमा पनि केही गम्भीर प्रश्न उठेका छन्। कञ्चनपुरमा एक जेष्ठ नागरिक महिलाले आफ्नो इच्छा विपरीत परिवारका सदस्यले मतदान गरिदिएको भन्दै असन्तुष्टि जनाएकी थिइन्, जसले गोप्य र स्वतन्त्र मतदानको अधिकारमा चुनौती देखाएको छ। त्यस्तै, सोही जिल्लामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ, जसले थप प्रभावकारी मतदाता शिक्षाको आवश्यकता औंल्याउँछ। काठमाडौँमा मसीको गुणस्तर कमजोर भएको भन्दै पुनः मतदान प्रयास गरिएको घटनालाई भने निर्वाचन टोलीले सफलतापूर्वक नियन्त्रण गरेको थियो।
सुरक्षा व्यवस्थाका हिसाबले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। कुल १८० सुरक्षाकर्मीमध्ये करिब ३३ प्रतिशत महिला सुरक्षाकर्मीको उपस्थिति सकारात्मक पक्षका रूपमा देखिएको छ।
मतगणना प्रक्रियामा भने महिला सहभागिता न्यून देखिएको छ। १४ सदस्यीय मतगणना टोलीमा केवल ४ जना महिलाहरूको मात्र सहभागिता रहेको पाइएको छ।
मुख्य सिफारिसहरू
पर्यवेक्षणपछि संघले आगामी निर्वाचनहरूलाई थप समावेशी र व्यवस्थित बनाउन केही प्रमुख सिफारिसहरू अघि सारेको छ। साँघुरा र अपहुँचयुक्त स्थानहरूलाई मतदान केन्द्रका रूपमा प्रयोग नगर्न, अपाङ्गता भएका र जेष्ठ नागरिकको स्वतन्त्र मतदान सुनिश्चित गर्न परिवारको हस्तक्षेप रोक्न, प्रत्येक केन्द्रमा प्राथमिक उपचार किट र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन, तथा बहिरा मतदाताका लागि साङ्केतिक भाषा दोभाषेको व्यवस्था गर्न संघले आग्रह गरेको छ।
संघका अनुसार, यी सुधारहरू कार्यान्वयन गर्न सकेमा आगामी निर्वाचनहरू अझ समावेशी, पहुँचयोग्य र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।