नेपाल अपांग महिला संघ (NDWA) ले Action for Justice (A4J) परियोजना अन्तर्गत कालोपुलस्थित आफ्नो कार्यालयमा एकदिने पोस्ट–ट्रेनिङ कम्युनिटी आउटरीच प्रिपरेटरी कार्यशाला आयोजना गरेको छ। कार्यशालाको उद्देश्य सामुदायिक सहजकर्ताहरूलाई आफ्नो-आफ्नो क्षेत्रमा व्यक्तिगत सचेतना अभिवृद्धि, परामर्श तथा रेफरल सहयोगजस्ता पोस्ट–ट्रेनिङ आउटरीच गतिविधिहरू सञ्चालन गर्न तयारी गराउनु थियो।
कार्यशालामा सात जना भ्रमण परामर्शदाता/सामुदायिक सहजकर्ता, A4J परियोजना टोलीका सदस्यहरू तथा NDWA का बोर्ड प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रमले २०२६ का लागि तय गरिएका आउटरीच गतिविधिहरूको तयारी सत्रका साथै पहिलो त्रैमासिक समीक्षा बैठकको रूपमा पनि काम गर्यो। यसले २०२५ मा भएको प्रगतिबारे समीक्षा गर्दै आगामी सामुदायिक सहभागिता कार्यक्रमहरूको योजना बनाउने अवसर प्रदान गर्यो।
सत्रका क्रममा सहभागीहरूले २०२५ मा सम्पन्न भएका २५१ घरधुरी भ्रमणहरूको समीक्षा गरे। ती भ्रमणहरू विशेषगरी अपांगता भएका व्यक्तिहरू, विशेषतः अपाङ्गता भएका महिला तथा किशोरीहरूमा केन्द्रित थिए, जसमा लैङ्गिक हिंसा (GBV), भेदभाव, अपांगता समावेशीकरण तथा उपलब्ध सेवाहरूमा पहुँचसम्बन्धी विषयमा सचेतना अभिवृद्धि गरिएको थियो। यस उपलब्धिलाई आधार बनाउँदै टोलीले २०२६ मा ५०० घरधुरी भ्रमण गर्ने लक्ष्य निर्धारण गरेको छ, जसमा समुदायस्तरीय पहुँच कार्यक्रमको गुणस्तर, निरन्तरता तथा नैतिक मापदण्डलाई अझ सुदृढ गर्नेमा जोड दिइएको छ।
सहभागीहरूले अघिल्लो वर्षका भ्रमणहरूबाट प्राप्त प्रमुख सिकाइ तथा उत्कृष्ट अभ्यासहरू पनि साझा गरे। घरधुरी स्तरमा पुगेर गरिने सम्पर्कलाई अपांगता भएका व्यक्तिहरू, विशेषतः सार्वजनिक सेवा लिन वा घर बाहिर निस्कन कठिनाइ भोग्ने व्यक्तिहरू सम्म पुग्ने प्रभावकारी माध्यमका रूपमा स्वीकार गरिएको थियो। धेरै सहभागीहरूले यस्ता भ्रमणहरूले परिवार तथा समुदायमा अपांगता अधिकार, लैङ्गिक हिंसा न्यूनीकरण तथा उपलब्ध सहयोग संयन्त्रबारे चेतना बढाउन मद्दत गरेको उल्लेख गरे।
यद्यपि, यस क्रममा केही चुनौतीहरू पनि उजागर गरिएका थिए। बहिरा व्यक्तिहरूसँग संवाद गर्दा देखिने सञ्चार अवरोध, विभिन्न वडाहरूमा भाषागत फरक, घरधुरी भ्रमणका क्रममा सुरक्षा तथा गोपनीयता सुनिश्चित गर्ने विषय प्रमुख चुनौतीका रूपमा देखिएका थिए। साथै, समुदायका केही सदस्यहरूले परियोजनाबाट आर्थिक वा जीविकोपार्जनसम्बन्धी सहयोगको अपेक्षा गर्ने गरेकोले परियोजनाको दायरा स्पष्ट रूपमा बुझाउनुपर्ने आवश्यकता पनि औंल्याइयो। संवेदनशील घटनाहरूमा काम गर्दा परामर्शदाताहरूले भोग्ने भावनात्मक दबाबबारे पनि छलफल भयो र सहकर्मी सहयोग तथा नियमित आत्म–समिक्षाको महत्त्वमा जोड दिइयो।
कार्यशालामा अपांगता पहिचान, सेफगार्डिङ सिद्धान्त, घरधुरी भ्रमणका क्रममा पालना गर्नुपर्ने नैतिक आचरण, रेफरल मार्गहरू तथा Kobo Toolbox प्रयोग गरी अभिलेखीकरणसम्बन्धी प्राविधिक सत्रहरू पनि सञ्चालन गरिएका थिए। सहभागीहरूले नगरपालिका तथा वडा तहका प्रतिनिधिहरूसँग समन्वयलाई अझ सुदृढ गर्दै सेवा रेफरल र सामुदायिक सहयोगलाई प्रभावकारी बनाउने उपायहरूमाथि पनि छलफल गरे।
बैठकको अन्त्यमा सेफगार्डिङ अभ्यासलाई अझ सुदृढ गर्ने, नैतिक मापदण्डलाई निरन्तर कायम राख्ने तथा नियमित सिकाइ र समीक्षा प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो। साथै, २०२६ भरि योजनाबद्ध घरधुरी आउटरीच गतिविधिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न त्रैमासिक समीक्षा बैठकहरू निरन्तर आयोजना गर्ने सहमति पनि गरियो।
यी प्रयासहरू मार्फत NDWA ले समुदायस्तरमा सहयोग प्रणालीलाई सुदृढ गर्दै अपांगता भएका महिला तथा किशोरीहरूको न्याय र सेवामा पहुँचलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।