अध्यक्षको सन्देश

नेपाल अपाङ्ग महिला संघले स्थापनाको गौरवपूर्ण २७ बर्ष पुरा गरेको छ । अपाङ्गता भएका महिलाहरुको सहभागिता, पहुँच, पुनर्स्थापना र सशक्तिकरणको मूलभूत मुद्धाका साथ काठमाडौंबाट सुरु गरिएको यो अभियान नेपालको ७ प्रदेशका ४५ भन्दा बढी जिल्लामा विस्तारित भईसकेको छ ।

समाज र प्रविधिको युग परिष्कृत हुँदै गएतापनि अपाङ्गता भएका महिलाहरुले सामना गरिरहेको असमानता, विभिन्न किसिमका अवरोध, हिंसा, अन्याय र दुर्व्यवहार बढ्दो क्रममा नै रहेको छ । अपाङ्गता भएका महिला तथा वालिकाहरु पनि मानव हुन भनेर स्वीकार गर्दै मानविय व्यवहार प्रदर्शनको लागि समाज अझै तयार भइसकेको देखिन्न । हरेक दिन हिंसा र दुर्व्यवहारका नयाँ घटनाहरु भएतापनि घटना दर्ता र न्यायिक प्रक्रियामा अपाङ्गता भएका महिलाहरुको सहभागिता र पहुँचलाई अझै सुदृढीकरण गर्न चुनौति भएको छ । हिंसाका स्वरुप परिवर्तन भइरहेको छन् । अपाङ्गता भएका

महिला भित्र पनि अति तथा पूर्ण अशक्त अपाङ्गता भएका महिलाहरुको अझै जोखिममा पर्ने भएको हुनाले उनीहरुको न्यायमा पहुँच वृद्धिको लागि प्रभावकारी व्यवस्थाको अवलम्बन गर्न आवश्यक छ ।

राज्य तहबाट र गैह्रसरकारी क्षेत्रबाट समेत हिंसा प्रभावित अपाङ्गता भएका महिलाहरुको पुनर्स्थापना सेवाको तड्कारो आवश्यकता रहेको छ । नेपाल अपाङ्ग महिला संघले सञ्चालन गरिरहेको हिंसा प्रभावित, सहाराविहिन र उच्च शिक्षाबाट वन्चित अपाङ्गता भएका महिलाहरुको पुनर्स्थापना केन्द्रलाई पुननिर्माण तथा दिगोपनको सुनिश्चितता समेत हामीले गर्नुपर्ने छ । पुर्नस्थापना अर्थात सुरक्षित आवासका लागी बढ्दो माग, पिडितहरुको संख्यामा भएको बढोत्तरी र सुरक्षाको लागि उक्त पुनर्स्थापना केन्द्रलाई थप सुदृढ गर्दै लग्नुपर्ने र संस्थागत विकास तथा सुदृढीकरण एवं ७७ जिल्लामा नै पहुँच विस्तारको लागि हामीले थप अभ्यास गर्नुपर्ने छ ।

अपाङ्गता भएका महिलाहरुको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आय आर्जनको अवसर, अर्थपूर्ण सहभागीता, पुनर्स्थापना, सहायक सामाग्री र मनोपरामर्श लगायत अति तथा पूर्ण अशक्त अपाङ्गता भएका महिलाहरुको लागि व्यक्तिगत सहयोगी सेवा समेत व्यवस्थाको लागि संघले निरन्तर सरकार तथा सरोकारवाला निकायहरुसँग वकालत तथा पैरवी गर्दै आइरहेको छ ।

नेपालभर सि.बि.एम्. ग्लोबल नेपाल, पिपल इन निड, इन्टरनेशनल कमिसन फर जुरिष्ट, यूएन ट्रष्ट फण्ड, वोमन काइन्ड वर्ल्ड वाइड, शिक्षाका लागि राष्ट्रिय अभियान, नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, नेपाल प्रहरी, महिला अधिकारको क्षेत्रमा क्रियाशिल सम्पूर्ण संघसंस्थाहरु, पुर्नस्थापना गृहका लागी सहयोग गर्नु हुने व्यक्तिहरु तथा रोटरी क्लब, ४० वटै जिल्लाका स्थानिय तह, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र प्रादेशिक कार्यालय, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, अपाङ्गता क्षेत्रमा क्रियाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाहरु, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संघसंस्थाहरु, निजी क्षेत्र, सहयोगी, शुभचिन्तक एवं शुभेच्छुकहरुमा यहाँ र यहाँको संस्थाले नेपाल अपाङ्ग महिला संघप्रति व्यक्त गर्नुभएको सहयोग तथा विश्वासको लागि हृदय देखी नै धन्यवाद् सहित कृतज्ञता ज्ञापन गर्दछु । यसका साथै यस संस्थाका कार्यसमिति, जिल्ला समिति, सल्लाहकारहरु, साधारण सदस्य, कर्मचारी साथै स्वयंसेवकहरुप्रति आभार प्रकट गर्दछु ।

अपाङ्गता भएका महिलाहरुले सामना गरेको सामाजिक अन्याय, विभेद, असमानता, बहिष्करण र अवरोधको मुद्धालाई राज्यव्यापी बनाउँदै वकालत तथा पैरवी, सचेतना, क्षमता अभिवृद्धी, अभियानहरु साथै समन्वय, सहकार्य मार्फत नितीगत हस्तक्षेप सहित अपाङ्गता भएका महिलाहरुले समतामुलक, पहुँचयुक्त, आत्मनिर्भर र सम्मानपूर्ण जीवन जिउन सक्ने वातावरण बनाउनका लागि आगामी बर्षमा नेपाल अपाङ्ग महिला संघको थप अग्रसरता र सक्रियता हुनेछ । हामीले लिएको यो लक्ष्य हासिल गर्नका लागि सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछु ।