लेखक: रन्जिता साह
महागढीमाई नगरपालिका–१० मा केही वर्षअघिसम्म सामान्य जीवन बिताइरहेको एउटा परिवार अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। परिवारमा छोरा, बुहारी, दुई नाति र वृद्ध हजुरबुवा–हजुरआमा गरी छ जना सदस्य थिए। तर समयसँगै पारिवारिक परिस्थिति बदलिँदै गयो र दुई अबोध बालकको जीवन झन् कठिन तथा असुरक्षित बन्दै गयो।
बालकका बुवा अत्यधिक मदिरा सेवन गर्ने गर्दछन्। कहिलेकाहीँ उनी ज्याला मजदुरी गर्न जान्छन् भने कहिले काम नगरी घरमै बस्छन्। बालबालिकाले के खाए, के लगाए वा विद्यालय गए कि गएनन् भन्ने विषयमा उनको खासै चासो देखिँदैन। उनी आफ्नो अभिभावकीय जिम्मेवारीप्रति उदासीन छन्।
केही समयअघि बालककी आमाले पनि कुनै जानकारी नदिई घर छोडिन्। उनी कहाँ गइन् भन्ने परिवारलाई थाहा छैन। त्यसयता उनको कुनै खबर आएको छैन र फोन सम्पर्कसमेत भएको छैन। परिणामस्वरूप, दुई बालकको लालनपालनको सम्पूर्ण जिम्मेवारी वृद्ध हजुरआमाको काँधमा आइपुगेको छ।
हाल नौ वर्षका दाजु, चार वर्षका भाइ र कान नसुन्ने उनीहरूकी हजुरआमा मात्रै सँगै बस्छन्। आफूले आराम गर्नुपर्ने उमेरमा हजुरआमा दुई नातिका लागि आमाको भूमिका निर्वाह गरिरहेकी छन्। आफ्नो शारीरिक अवस्थाका बाबजुद उनी अरूको घरमा काम गरेर बालकहरूका लागि खाना, लत्ताकपडा र दैनिक आवश्यकताहरू जुटाउँदै आएकी छन्। आमाको अनुपस्थितिमा उनीहरूलाई सकेसम्म माया, स्याहार र संरक्षण दिँदै आएकी छन्।
तर उनको मनमा सधैँ एउटै चिन्ताले सताइरहन्छ, “म अब कति दिन बाँचुँला र? म नभएपछि यी नातिहरूलाई कसले हेर्ला? कसले हुर्काउला? उनीहरूले पढ्न पाउलान् कि नपाउलान्? कापी, कलम र विद्यालयका अन्य सामग्री कसले किनिदेला?”
उनको चिन्ता दैनिक छाक टार्नमा मात्र सीमित छैन। उनी आफ्ना नातिहरूले शिक्षा हासिल गर्न सकून्, सुरक्षित वातावरणमा हुर्किन पाऊन् र उनीहरूको भविष्य राम्रो बनोस् भन्ने चाहन्छिन्।
नौ वर्षका बालकको पनि एउटा सानो अनुरोध छ, “मलाई पढ्न र लेख्नका लागि कापी र कलम सहयोग गरिदिनुहोस्।”
धेरै बालबालिकाका लागि कापी र कलम सामान्य शैक्षिक सामग्री हुन्। तर यी दुई बालकका लागि ती सामग्री शिक्षासँग जोडिइरहने एउटा महत्त्वपूर्ण अवसर हुन्। उनीहरूको बालापन अभाव र असुरक्षामा होइन, माया, संरक्षण र शिक्षाको उज्यालोमा बित्नुपर्छ।
असुरक्षित तथा जोखिममा रहेका महिला र किशोरीहरूसँग IGNITE परियोजनामार्फत काम गर्ने क्रममा मैले सामाजिक बहिष्करण र विभेदले मानिसको जीवनमा कति गहिरो प्रभाव पार्न सक्छ भन्ने देखाउने अर्को कथा पनि अनुभव गर्ने अवसर पाएँ।
दुई महिनाअघि मुक्ति नेपाल, नेपाल अपाङ्ग महिला संघ (NDWA) र CBM Nepal Country Office को संयुक्त आयोजनामा सञ्चालित IGNITE परियोजनामा पुनः जोडिने अवसर मिल्यो। परियोजनाअन्तर्गत हिंसा प्रतिकार्य समूह गठनका लागि स्थानीय सरकारसँग समन्वय गर्ने क्रममा रेश्मालाई पनि समूहको सदस्य बनाउने सल्लाह भयो।
बाल्यकालमा सुइरोले घोचिएपछि रेश्माको बायाँ आँखाको दृष्टि गुमेको रहेछ। उनी प्रतिकार्य समूहको सदस्य बनेपछि उनको राष्ट्रिय परिचयपत्र अझै नबनेको कुरा थाहा भयो। नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न उनले पटक–पटक प्रयास गरे पनि उनको प्रक्रिया अधुरै रहेको थियो।
यसको कारण फेरि उही वडा अध्यक्ष थिए। उनलाई भनिएको थियो, “मधेशकी, त्यो पनि मुस्लिम समुदायकी छोरी ३० वर्षसम्म अविवाहित बसेको पत्याउन सकिँदैन। वडाबाट अविवाहित प्रमाणपत्र ल्याउनुस्, अनि मात्र राष्ट्रिय परिचयपत्र बन्छ।”
यस जवाफले उनी निकै निराश भएकी थिइन्।
रेश्माको जीवन पहिले नै पीडादायी अनुभवहरूले भरिएको थियो। विवाहको नाममा बेचिएको घटना, दोस्रो विवाहपछि पनि घरपरिवारको कुनै साथ र सहयोग नपाएको अवस्था तथा नागरिकता प्राप्त गर्न भोग्नुपरेका अवरोधहरूले उनको सामाजिक बहिष्करणलाई थप गहिरो बनाएका थिए।
उनलाई विवाहको नाममा बेचिएको घटना, परिवारको साथ र सहयोगको अभाव, नागरिकता प्राप्त गर्न पटक–पटक भोग्नुपरेका अवरोध तथा समुदाय र संस्थागत तहबाट भएका पहललगायत सम्पूर्ण विवरण प्रमुख जिल्ला अधिकारीसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्यौँ। छलफलपछि अन्ततः उनको प्रक्रिया अघि बढ्यो।
गत असार ४ र ५ गते सञ्चालन भएको हिंसा प्रतिकार्य समूहको तालिमका क्रममा हामी उनलाई साथमा लिएर लगातार दुई दिन जिल्ला प्रशासन कार्यालय पुग्यौँ। अन्ततः २०८३ साल असार ५ गते उनले राष्ट्रिय परिचयपत्र प्राप्त गरिन्।
त्यस दिन उनको अनुहारमा देखिएको मुस्कान शब्दमा वर्णन गर्न सकिँदैनथ्यो। तालिमका सहभागीहरूमाझ आफ्ना अनुभव सुनाउँदै उनले भनिन्, “नेपाली नागरिकका रूपमा आफ्नो पहिचान पाउने आशा मैले लगभग मारिसकेकी थिएँ। तर सबैको सहयोगले आज यो सम्भव भयो।”
उनले IGNITE परियोजनाको टोली, सम्बन्धित निकाय तथा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरिन्।
यी दुई बालक र रेश्माका कथाहरू फरक देखिए पनि यिनीहरूले एउटा साझा वास्तविकता उजागर गर्छन्—पहिलेदेखि नै जोखिम र असुरक्षामा रहेका व्यक्तिहरूले आफ्ना आधारभूत अधिकार, अवसर र सम्मान प्राप्त गर्न थप अवरोधहरूको सामना गर्नुपर्छ। दुई बालक आधारभूत स्याहार, संरक्षण र शिक्षाका लागि संघर्ष गरिरहेका छन् भने रेश्माले नेपाली नागरिकका रूपमा आफ्नो पहिचान स्थापित गर्न संघर्ष गर्नुपर्यो।
यी अनुभवहरूले जोखिम र असुरक्षाको अवस्था व्यक्तिको व्यक्तिगत परिस्थितिका कारण मात्र सिर्जना हुँदैन भन्ने कुरा स्मरण गराउँछन्। पारिवारिक उपेक्षा, सामाजिक विभेद, पहुँचविहीन प्रणाली तथा संस्थागत अवरोधहरूले यस्ता समस्यालाई अझ गम्भीर बनाउँछन्। समयमै प्राप्त हुने सहयोग, सामुदायिक एकता र जिम्मेवार संस्थागत पहलले मानिसको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ।
यी अनुभवहरूलाई सम्झँदा मलाई लाग्छ, कहिलेकाहीँ एउटा कापी र कलमले बालकको भविष्यप्रतिको आशा जगाउन सक्छ भने एउटा राष्ट्रिय परिचयपत्रले आशा गुमाइसकेकी महिलालाई आफ्नो पहिचान र नागरिकका रूपमा अपनत्वको अनुभूति दिलाउन सक्छ।
यस्ता प्रत्येक कथाको पछाडि माया, संरक्षण, समान अवसर र सम्मान पाउन योग्य एउटा जीवन हुन्छ। उनीहरूका संघर्षहरू ओझेलमा पर्नु हुँदैन र आफ्ना अधिकार प्राप्त गर्न उनीहरू एक्लैले संघर्ष गर्नुपर्ने अवस्था पनि हुनु हुँदैन।