Entrepreneurship

संघर्षका पहाड चिरेर पाएको सफलता

विद्या केसी
अरुको भरमा नपरौं, आफैंले मेहनत गरेर अगाडि बढौं, सीप अनिवार्य सिकौं, सकारात्मक सोच राखौं, आफ्नो पहिचान अगाडि बढाऔं । कुरा सबैको सुन्ने तर निर्णय गर्दा आफैंले सोचेर गर्नुपर्छ भन्ने मेरो भावना हो ।
*** ***
१८ वर्षको उमेरमा ६० वर्षको बृद्ध पुरुषसँग बिहे गर्नुपर्ने बाध्यता र विवशता मेरो अपाङ्गता थियो । पाँच वर्षको उमेरमा आएको ज्वरोले मलाई झण्डै ४ वर्षसम्म ओछ्यानमा पुर्‍यायो । जब उठें, खुट्टाले टेक्न नसक्ने अवस्थामा थिएँ । बिरामी भएर उठेपछि एउटा खुट्टामा टेक्न नसक्ने समस्या देखियो । यो बिरामीले मेरा जिन्दगीका सारा सपनालाई ओछ्यानबाट उठ्नै नसक्ने बनायो । अन्ततः म १८ वर्षको उमेरमै हजुरबुबा उमेरको मान्छेको हातमा पुगें ।
परिवारले मेरो बिरामी निको पार्न घरमै धामीझाँक्री लगाए । धनगढीमा लगेर औषधीमूलो पनि गरे तर मलाई बिसेक भएन । उल्टै म हिंड्न नसक्ने अवस्थामा पुगें । बिरामी नहुञ्जेल म विद्यालय जान्थें । बिरामीले खुट्टा कुँजिएर हिँडडुल गर्न नसक्ने भएपछि म विद्यालय जान पाइनँ । ९ वर्षको हुँदा म अलिअलि हिंड्न सक्ने भएँ र फेरि विद्यालय जान थालें । तर ६ कक्षाभन्दा माथि पढ्न फेरि मेरो खुट्टा अवरोध बन्यो ।
घरमा दाइको विवाह भयो । अनि मेरो विहेको कुरा चल्न थाल्यो । मेरो बुबाले तिमी ‘डुँडी’ छौं, तिमीलाई राम्रो केटा कसले विवाह गर्छ भन्नुहुन्थ्यो । बुबाले नै यस्तो वचन लगाउँदा मेरो मन दुख्थ्यो । विवाहप्रति मेरो सोचाइ झन् नराम्रो हुँदै गएको थियो । तर ‘हुने हार दैव नटार’ भनेझैं एकदिन गाउँकै बज्यैले ६० वर्षको पुरुषसँग विवाह गर्ने प्रस्ताव ल्याउनुभयो । ती पुरुष धेरै वर्ष भारतमा बसेर काम गरेका र विवाह नगरी बसेका रहेछन् । उनी त्यही वर्ष नेपाल आएका थिए । ६० वर्षको व्यक्तिसँग विवाह गर्ने कुरा सुनेरै मलाई डर लाग्यो । मैले विवाह गर्दिन भनें । तर बुवाले विवाह नगर्ने भए घर छोड्न उर्दी जारी गर्नुभयो । उहाँको यो उर्दी मान्न म बाध्य भएँ । ‘तँलाई राम्रो केटा कसैले विवाह गर्दैन, विवाह गर्ने भए गर, नत्र मेरो घरमा बस्नु पर्दैन, घर छोडेर जा’ बुबाले यस्तै भन्नुभयो । म त्यतिबेला जम्मा १८ वर्षकी थिएँ, घर छोडेर कहाँ जाउँजस्तो भयो । घर छोडेर जानुभन्दा विवाह गर्छु भनेर मैले २०४९ सालमा विवाह गरें ।
विवाह गरेर गएपछि, जेठानी र उसको बुहारीले मलाई घाँस काट्न पठाउने, पानी भर्न पठाउने, घरको काम गर्न लगाउने गर्थे । टाढा त म हिँड्न सक्दिनथें, तर नजिक नजिक गएर मैले घाँस काटेर र पानी भरेर ल्याउथें । पानी भर्न जादाँ म लड्थे पनि । मलाई ‘अपाङ्ग’ भनेर हेप्ने, काम गर्न पनि नसक्ने भनेर घरबाट निकालिदिए र हामी अलग बस्न थाल्यौं ।
विवाह भएको वर्ष नै म गर्भवती भएँ । सुत्केरी हुने बेलामा घरमै सुँडिनी बोलाइयो । बच्चा जन्माउन नसकेपछि सनेसो हानेर बच्चालाई बाहिर तान्न खोजियो, पेटमा थिचियो । म बेहोस भएछु, पछि धेरै प्रयास गर्दा पनि बच्चा ननिस्केपछि मलाई सेती अञ्चल अस्पताल पुर्‍याइयो। छोरी जन्मिई । तर टाउकोमा धेरै चोट लागेकाले करिब २० मिनेटमा उसको मृत्यु भयो । दुई वर्षपछि छोरो जन्मियो । छोरा २ वर्षको हुँदादेखि मेरो श्रीमान बिरामी परेर थला पर्नुभयो । त्यसपछि, बच्चा हुर्काउने, घरको जिम्मेवारी र श्रीमानलाई स्याहार गर्नुपर्ने सबै जिम्मेवारी मेरै काँधमा आयो । श्रीमान बिरामी भएपछि धेरै दुःख हुन थाल्यो । छोरा ३ वर्षको हुँदा उहाँको मृत्यु भयो ।
त्यसपछि आयआर्जनका लागि मैले कपडा सिलाउने काम गरें । मैले यो सीप भने बुबाकै कारणले पाएकी थिएँ । पाँच कक्षाभन्दा माथि पढ्न नदिए पनि धनगढी आफन्तकोमा बस्ने व्यवस्था मिलाई बुबाले मलाई सिलाइकटाइ तालिम लिने व्यवस्था गरिदिनुभएको थियो । यो तालिम एक वर्ष लिएकी थिएँ । श्रीमानको मृत्युपछि मेरो जिविका चलाउन यो सीपले सघायो ।
खेतीपातीबाट पनि अलिअलि भरथेग हुन्थ्यो । त्यहीबाट म खर्च चलाउने गर्थे । गाविसमा सिलाइकटाइ सिकाउनका लागि मैले प्रशिक्षकको रूपमा काम गर्ने मौका पाएँ । छोरालाई दुःख गरेर १० कक्षासम्म पढाएँ । १० कक्षा पढ्दै गर्दा १६ वर्षको उमेरमा छोराले १७ वर्षकी बुहारी लिएर आयो । त्यसपछि मैले नै दुवैजनालाई एलएलसी पास गराएँ, दुवैजनालाई क्याम्पस पढाएँ । बुहारीले १२ कक्षा पास गरिन्, छोराले भने ११ कक्षापछि पढाइ छोड्यो । त्यसपछि छोरालाई जीप चलाउन सिक्न पठाएँ ।
२०५८ सालमा गाविसमा प्रौढकक्षाको तालिम आयो, मैले पनि निवेदन दिएँ । फेरि त्यहाँ परीक्षा भयो । त्यसमा म पास भएँ, प्रौढ कक्षाको ७ दिनको तालिम भयो । ६ महिनासम्म समुदायमा रहेको महिलालाई नाम लेख्न प्रशिक्षण दिइयो । २०७० सालमा सामुदायिक मेलमिलाप केन्द्रमा पनि आबद्ध भएँ । सात दिने तालिम पनि लिएँ । यो तालिमले समुदायमा रहेका सानातिना विवादहरू कसरी मिलाउने भन्नेमा सहयोग पुर्‍यायो ।
२०७३ सालमा सामुदायिक वन उपभोक्ता महासंघको उपाध्यक्षमा २ वर्षसम्म काम गरें । अहिले आफ्नै वडाको श्री सरस्वती माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा रहेर काम गरिरहेकी छु ।
मेरो श्रीमानको मृत्यु हुँदा म २२ वर्षकी थिएँ । मेरो घरपरिवार र गाउँलेले मलाई अन्य व्यक्तिसँग बोल्दा पनि आरोप लगाउने गर्थे । लुगा सिलाउन मसँग धेरै मान्छे आउँथे, कहिले सामान लिनका लागि काम लगाउनुपथ्र्यो, ती व्यक्तिहरूसँग बोली भनेर मैले धेरै नै आरोप खेपें । मलाई साह्रै चित्त दुख्थ्यो । बोल्यो भने झगडा हुन्छ भनेर म धेरै कुरा सहेर बस्थें ।
२०६३ सालमा म महिला विकास कार्यालय कञ्चपुरद्वारा सञ्चालित सहकारी संस्थामा सेयर सदस्यका रूपमा आबद्ध भएँ । यस संस्थामा रहेर मैले बचत गर्न थालें । २०६७ सालमा म सहकारी संस्थाको अध्यक्ष भएँ । आफ्नो वडाका महिलाहरूलाई मैले यस संस्थामा सेयर सदस्यका रूपमा थप्दै गएँ । महिला विकासले आयोजना गर्ने संस्थागत विकास, महिला सशक्तीकरण, नेतृत्व विकाससम्बन्धी तालिमहरूमा सहभागी हुने मौका पाएँ । यी तालिममा सहभागी हुन थालेपछि म धेरै बोल्नसक्ने भएँ । समुदायका महिलाहरूलाई पनि सहकारी संस्थाको सेयर सदस्य बन्न प्रेरित गर्न थालें । शान्तिपुर, राजघाट, पचढंकी, पिपरिया, घोडाघाटलगायत स्थानमा गएर करिब २०० जना महिलालाई मैले सहकारीको सेयर संस्थामा आबद्ध गराएँ । संस्थामा अरु महिलालाई सहभागी गराउने र बचत गर्नुपर्छ भन्ने कुरा सिकाएँ । महिलाहरूले मेरो कुरामा चित्त बुझाउँथे । समूह–समूह बनाएर बचत उठाउथें । देउसी भैलो र होली खेलेर उठाएको पैसाले समूहका लागि भाँडावर्तन किन्यौं । ती भाँडावर्तनलाई विवाह ब्रतबन्धमा भाडामा लगाएर पैसा उठाउने काम गर्थ्यौं र समूहमा बचत गर्थ्यौं ।
संस्थामा अरु महिलालाई सहभागी गराउने र बचत गर्नुपर्छ भन्ने कुरा सिकाएँ । महिलाहरूले मेरो कुरामा चित्त बुझाउँथे । समूह–समूह बनाएर बचत उठाउथें । देउसी भैलो र होली खेलेर उठाएको पैसाले समूहका लागि भाँडावर्तन किन्यौं । ती भाँडावर्तनलाई विवाह ब्रतबन्धमा भाडामा लगाएर पैसा उठाउने काम गर्थ्यौं र समूहमा बचत गर्थ्यौं ।
२०६६ सालमा गाविस सचिवले मलाई अपाङ्गता भएका व्यक्तिका लागि गाविसमा पैसा आउने तर त्यो पैसा खर्च नै नहुने जानकारी दिनुभयो । उहाँले हामीलाई एकजुट भएर यो पैसाले के गर्न सकिन्छ गर्नु भन्नुभयो । त्यसपछि मैले तात्कालीन रैकवार गाविसको नौवटै वडामा पुगेर अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर गाविसस्तरीय समूह गठन गरें । गाविसको बजेटबाट नै प्रत्येक वडाबाट पाँच–पाँच जना अपाङ्गता भएका व्यक्तिलाई बोलाएर कार्यक्रम सञ्चालन गर्न थालें । अपाङ्गता भएर पढ्न जाने विद्यार्थीका लागि कापी, कलम, झोला किनेर वितरण पनि गरें । उनीहरूका लागि गाविसको बजेटबाट मैनबत्ति बनाउने तालिम सञ्चालन गर्यौं । यसबाट उनीहरू पनि घरबाहिर निस्कने, सीप सिक्ने, आफ्नो कुरा राख्नसक्ने भए । जुन कुराले मलाई निकै सन्तोष लाग्छ ।
२०६८ सालमा मैले नै नेतृत्व गरेर कञ्चनपुर जिल्लाको अहिलेको कृष्णपुर नगरपालिका (साबिकको रैकवार गाविस)मा एकल महिलाको संगठन बनाएँ । गाविसमा बजेट आउने तर खर्च नहुने, एकल महिलाका लागि लक्षित कार्यक्रम पनि नहुने, ६० वर्ष उमेर पुगेका महिलालाई मात्र भत्ता दिने गरेको थियो । यसर्थ हामी एकल महिलाहरूले आफ्नो लागि आवाज उठाउनुपर्छ, एकजुट भएर गाविसको बजेट पनि ल्याएर काम गर्नुपर्छ भनेर मैले लालीगुराँस एकल महिला समूह गठन गरें । समूहमा २२ जना सदस्य थिए । उक्त समूह गठन गरेपछि गाविसले हामीलाई वर्षमा ३० हजार रुपैयाँ बजेट दिन्थ्यो । पहिलो वर्षको बजेटबाट हामीले १६ जनालाई मैनबत्ति बनाउने तालिम दियौं, तालिम लिनेमध्ये धेरैले मैनबत्ति बनाएर बेचेर घरखर्च जुटाउने गर्थे ।
दोस्रो वर्षको बजेटले हामीले बाख्रा पालनका लागि बाख्रा किनेर १५ जना एकल महिलालाई सहयोग गर्यौं । एकल महिलाले घरभित्रको मात्र हैन, बाहिर पनि निस्कनुपर्छ भनेर तालिम, अन्तरक्रिया सञ्चालन गर्यौं । हामीले जिल्लास्तरमा पनि कार्यक्रम गर्यौं । जिल्लास्तरमा समेत एकल महिलाहरूको संगठन विस्तार भयो । ६० वर्षपछि हैन एकल महिलाले एकल हुने बित्तिकै भत्ता पाउनुपर्छ भनेर पैरवी गर्यौं । हालः महिलाले श्रीमान बितेको मृत्यु दर्ता गराउने वित्तिकै एकल भत्ता पाउने व्यवस्था भएको छ । यसरी आफूले काम गरेको सवालमा परिवर्तन आएको देखेर मलाई धेरै खुसी लाग्छ । अहिले त पहिलेजस्तो छैन, एकल महिलाहरू पनि बाहिर आउन सजिलो भएको छ । विभिन्न समूह, सञ्जालमा आबद्ध भएका छन् ।
२०६८ सालमा नै वडा नागरिक मञ्चको संयोजक पनि भए । विकासका कामहरू बाटोघाटो बनाउने, धारा बनाउने काममा पनि म अग्रसर रहें । मेरा कामका लागि गाविसले मलाई प्रशंसापत्र पनि दिएको छ ।
मैले धेरै जना सुस्त मनस्थिति भएका किशोरीहरूलाई बलात्कार हुनबाट जोगाइ उद्धार गरेकी छु । बृद्ध आमाहरूलाई बृद्धभत्ताको बैंक खाता खोल्न सहयोग गरिरहेको छु । आमा बाबा नभएका बालबालिकालाई समावेसी विद्यालयमा भर्ना गराइदिएकी छु । धेरै अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्गता परिचयपत्र सम्बन्धित निकायसम्म पुर्‍याएर सहयोग गरेकी छु । नागरिकता नपाएका महिलाहरूलाई नागरिकता दिलाएर उनीहरूलाई सहयोग गरेकी छु । त्यसपछि म राजनीतिमा पनि सक्रिय छु । २०७३ सालमा म नेपाल महिला संघको महाधिवेशन प्रतिनिधिका रूपमा छनोट भएर काम गरेकी थिएँ । हालः २०७८ सालमा म नेपाली कांग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि चयन भएकी छु ।
हामीले आफ्नो पहिचान बनाउन जरुरी छ । अरुको भरमा नपरौं, आफैंले मेहनत गरेर अगाडि बढौं, सीप अनिवार्य सिकौं, सकारात्मक सोच राखौं, आफ्नो पहिचान अगाडि बढाऔं । कुरा सबैको सुन्ने तर निर्णय गर्दा आफैंले सोचेर गर्नुपर्छ भन्ने मेरो भावना हो ।



← Previous Story All Stories Next Story →