नेपाल अपाङ्ग महिला संघको अठारौं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न

AGM Picture

A group picture of newly elected NDWA Board Members.

नेपाल अपांग महिला संघले १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन सम्पन्न गरेको छ । संघको सो अधिवेशनले निर्मला धितालको अध्यक्षतामा सात सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मीना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन भएका छन् भने समितिको सदस्यहरुमा मैया लम्साल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा चयन भएका छन् । अन्य थप २ सदस्यहरु भने संघको विधान अनुरुप पछि मनोनित गरिने संघले बताइएको छ ।

 

सो साधारण सभा एवं अधिवेशनको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मेयर शाक्यले काठमाडौं महानगरपालिकाका कार्यक्रमहरुमा अपांगता भएका व्यक्तिहरुको लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले अपांगतामैत्री साझा बस थप गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।

 

उद्घाटन शत्रको शुरुवातमा संघकी अध्यक्ष निर्मला धितालले संघको हालसम्मका उपलब्धिहरु, चुनौतीहरु तथा अनुकरणीय अभ्यासका बारेमा प्रस्तुती गर्नुभएको थियो । सोही क्रममा प्रमुख अतिथि शाक्य, निवर्तमान सांसद मधु गुरुङ्ग तथा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीद्वारा प्रकाशित संघको वार्षिक प्रतिबेदन सार्वजनिकीकरण गरिएको थियो ।

 

उद्घाटन शत्रमा प्रमुख अतिथि, अतिथिहरु तथा नेपाल अपाङ्ग महिला संघकी अध्यक्षद्वारा संघको संस्थापक व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नेहरुमा संघको संस्थापक अध्यक्ष, रमा ढकाल, संस्थापक उपाध्यक्ष, टीका दहाल, संस्थापक महासचिव, इन्दिरा चापागाईं, संस्थापक कोषाध्यक्ष, भुमिकला पौडेल, संस्थापक सदस्यहरु, मीना पौडेल, कालीमाया बानिया र सरला तण्डुकार हुनुहुन्थ्यो ।

कार्यक्रममा अतिथि निवर्तमान सांसद मधु गुरुङ्ग, बिशेष अतिथि शिक्षा बिभाग समावेशी शिक्षा शाखाका उपसचिव गणेश पौडेल, अधिकारकर्मी डा.रेनु अधिकारी तथा लिली थापाले अपाङ्ग महिला संघले अपाङ्गता महिलाको अधिकारको क्षेत्रमा गरेका अमूल्य योगदानको सह्राना गर्दै उज्जवल भविष्यको कामना गर्नुभयो । कार्यक्रममा अपाङ्गता अधिकारको क्षेत्रमा कार्यरत अतिथि संघसंस्थाका प्रतिनिधिहरु: राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदी, बौद्धिक अपाङ्गता अभिभावक महासंघका अध्यक्ष मुकुन्दहरी दाहाल, राष्ट्रिय अपाङ्ग संगठनका महासचिव बालकृष्ण गैरे, सिविएम नेपालका कार्यक्रम अधिकृत पदम महर, नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोख्रेल, अपाङ्ग मानवअधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारी, नेपाल अपागं समाजका अध्यक्ष तेज कुमारी तिवारी, स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष गणेश के.सी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष एवं बरिष्ठ सल्लाहाकार टिका दाहाल, राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघका अध्यक्ष लक्ष्मी देवकोटाले नेपाल अपाङ्ग महिला संघले अपाङ्गता अधिकारको क्षेत्रमा गरेको योगदानको सह्राना गर्दै उत्तरोत्तर प्रगति सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमको पहिलो शत्रको अन्त्यमा संघका उपाध्यक्ष कमला बुढाथोकीले अतिथिहरु, संघका संस्थापकहरु, अपाङ्ग अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु, संघका कर्मचारीहरु तथा सहभागीहरुको सक्रिय सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमको दोस्रो शत्रमा अधिवेशन सम्पन्न गरिएको थियो । संघको नवौं अधिवेशनका लागि तत्कालीन कार्यसमितिले निर्वाचनका लागि अधिवक्ता मुकुन्द दहाल तथा अधिकारकर्मी लक्ष्मी न्यौपाने सहितको निर्वाचन समिति चयन गरेको थियो । संयोजक मुकुन्द दहाल तथा निर्वाचन अधिकृत लक्ष्मी न्यौपाने सहितको निर्वाचन समतिले लोकतान्त्रिक पद्धतिद्वारा निर्वाचन सम्पन्न गरी चुनिएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । उक्त सम्पूर्ण कार्यक्रमको संचालन संघकी महासचिव मीना पौडेलले गर्नुभएको थियो ।